Kath khabar
रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएकोबारे आयोगले गृहलाई भन्यो : निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण बनाउनू


              चितवन, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ। आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो। 

एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्। तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ। 

सभापति लामिछानेले गाडीमाथि आक्रमण गर्नेलाई प्रहरीले सुरक्षा दिइरहेको आरोप लगाए। ‘यो ममाथि गरिएको आक्रमण हो,’ उनले भनेका छन्, ‘हाम्रा साथीहरू घाइते भएका छन्।’ 

‘७ वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेला धकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले बताए।

गाडी तोडफोडमा संलग्न रहेका मानिसलाई खोजिरहेको उनले बताए, भने सत्ता गठबन्धनमा रहेका दलका कार्यकर्ताले गाडी तोडफोड गरेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टीको छ। 

त्यसैगरी चितवन लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाध रूपले प्रचार प्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका विषयप्रति आयोगले आइतबार एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालय मार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रता पूर्वक निर्वाध रूपमा प्रचार प्रसार गर्न-गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको छ।

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सवार गाडीमा आइतबार तोडफोड भएपछि आयोगले विज्ञप्ति मार्फत ध्यानाआकर्षण भएको जनाएको हो।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update