Kath khabar
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै



               काठमाडौं, कात्तिक २९। मंसिर  १६, १७ र १८  एस. डी  एक्स्पो मिडियाको आयोजनामा इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदैछ । यो विद्युतीयगाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको सबैभन्दा ठुलो प्रदर्शनी हो । एस. डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको यो एस्पोको सह-आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ ।  यस प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क , कार रिप,  नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिचरले सहकार्य  गरेका छन् ।

विगत दुई वर्ष देखि कोभिड-१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको हो । २०२० मा हुनु पर्ने यस प्रदर्शनी अब मंसिर  १६ , १७ र १८ मा हुँदैछ । यस कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्युतीयगाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु हो । यसका साथै , यस सुन्दर अवसरले पछिल्ला दिनमा विद्युतीयगाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्नेछ ।

पछिल्ला दशकहरूमा विद्युतीयगाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनीय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्युतीय यातायातमा सारेको देखिन्छ। विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ। यसरी विद्युतीयगाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ । यस प्रदर्शनी विशेष गरि विद्युतीयकार , विद्युतीयस्कुटर र मोटरसाइकल र साइकल, विद्युतीयबस, विद्युतीयट्रयाक्टर, विद्युतीयकार्गो लोडर, रिक्सा तथा विद्युतीयचार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीयसामाग्रीहरू प्रदर्शनमा राखिनेछ ।

यस वृहत प्रदर्शनी १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्ज हुनेछ । यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू,  सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुनेछ। यस वृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्युतीययातायातका क्षेत्रमा भएका पछिल्ला विकासेहरू पनि प्रदर्शनीमा देख्न पाइनेछ ।

विद्युतीय यातायातको क्षेत्रमा यस प्रदर्शनीले थप उर्जा प्रदान गर्नेछ । यसका साथै यसले विभिन्न अवसरहरू जुटाउँदै नयाँ विचार तथा सृजनात्मक कार्यलाई हौसला प्रदान गर्नेछ । आयोजकले यस प्रदर्शनीका लागि सहयोग गर्नु हुने सबै सहयोगी, एजेन्सीहरू, बिक्रेताहरूप्रति कृतज्ञता प्रकट गर्न गरेको छ। प्रेस विज्ञप्तिमा आयोजकले सधैं विद्युतीय यातायात तथा गाडीको क्षेत्रलाई सहयोग तथा प्रोत्साहन गर्नका लागि तत्पर रहने पनि बताएका छन्  ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update