Kath khabar
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै


                    काठमाडौं, कात्तिक २९।  चीनका राष्ट्रपती सी जिनपिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानी बीच आज मङ्गलवार बेलुकी भेटवार्ता हुने भएको छ । जी-२० शिखर सम्मेलनका क्रममा इन्डोनेसियमा रहेका सी र अल्बानीबीच आज भेटवार्ता हुन लागेको हो । 

सन् २०१८ देखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका अस्ट्रेलिया र चीनका कार्यकारी प्रमुख बीच हुन लागेको भेटलाई विश्वभरबाट महत्त्वका साथ हेरिएको छ । 

यसअघि गएको आइतवार कम्बोडियामा भइरहेको आसियान सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानी र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग पनि अनौपचारिक भेट भएको थियो । भेटसँगै दुई देशबीचको कुटनीतिक सम्बन्धमा थप सुधार आउने विश्लेषण गरिएकोमा आज फेरि सी र अल्बानीबीच भेट हुन लागेको हो । 

सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो । कोरोना भाइरसको उत्पत्तिका विषयमा छानबिन हुनुपर्ने माग उठाएपछि रुष्ट चीनले अस्ट्रेलियासँगको अर्बौ डलर बराबरको व्यावसायिक सम्बन्धमा असर पर्ने गरी विभिन्न निर्णय गरेको थियो । 

चीनले अस्ट्रेलियाबाट आयात गरिने झन्डै २० अर्ब डलर बराबरको खनिज, मासु, रक्सी, जौ लगायत आधा दर्जन बढी वस्तुमा कर लगाउनुका साथै रोक समेत लगाएको थियो । त्यसयता समस्या समाधानका लागि अस्ट्रेलियाली पक्षले पहल गर्दै आएको भए पनि त्यसलाई चिनियाँ पक्षले बेवास्ता गर्दै आएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update