काठमाडौं, कात्तिक ३०। कुल वस्तु निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो ३ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९-८० को ३ महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई ४१ अर्ब ८२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत चीनतर्फ भएको निर्यात क्रमशः ४५ प्रतिशत र ३५ प्रतिशतले कमी आएको छ भने अन्य मुलुक तर्फको निर्यात ५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को ३ महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९ .२ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाई छ ।
निर्यात तर्फ़ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयात तर्फ़ सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०७९-८० को ३ महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई ३ खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।