Kath khabar
१ हप्ता हिँडेर गोरखा मतदान केन्द्र पुगे कर्मचारी


                 गोरखा, मंसिर २ ।  प्रतिनिधि सभाको २ र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको गोरखामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि गोरखाका २ सय २२ मतदानस्थल र ३ सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृत सहितका कर्मचारी पुगेर चुनावको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा झन्डै १ हप्ता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका-१ को सामागाउँको साम्दो पुग्न झन्डै १ हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् ।

जिल्लाभित्र चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ३ वटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो । हरेक मतदान स्थलमा ५ जना र मतदान केन्द्र २ वटा भए थप २ जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । 

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भन्नुभयो, त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र चुनाव भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताउनुभयो । 

उहाँले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उहाँको भनाइ छ ।गोरखाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १ लाख १५ हजार ३ सय ९७ मतदाता छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ४० मतदाता छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update