
काठमाडौं, मंसिर ६। नेकपा एमालेको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गर्नुभएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पूर्ण मतदाताको जित भएको बताउनुभएको छ ।
निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पूर्ण मतदाताको जित भएको बताउनुभएको छ ।
विजयी लगत्तै उहाँले भन्नुभयो- गएको निर्वाचनमा मेरा मतदाताले जसरी अगाध मायाले मत दिएर विजयी गराउनुभएको थियो, यो निर्वाचनमा पनि त्यसरी नै विजयी गराउनुभएकोमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु । यो जित मेरो मात्र होइन सम्पूर्ण राष्ट्रवादी जनताको हो, नेकपा एमालेको हो- उहाँले भन्नुभयो ।
विजयी लगत्तै प्रतिकृया दिदै उहाँले भन्नुभयो-मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु । जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तिव्रगतिमा लैजानेछु । काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेको थियो । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९ सय ६१ मत ल्याएका थिए ।
गठबन्धनबाट उम्मेदवार हुनुभएकी माओवादी केन्द्रकी धमलाले ६ हजार ४ सय २ मत पाउनुभएको थियो । बिसं २०४८ पछि भएको निर्वाचनमा आठ पटक उम्मेदवार बन्नुभएका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुनुहन्छ । यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रविधि, वन तथा वातावरण, स्वाथ्य तथा जनसंख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेता हुनुहुन्छ । श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा विजयी हासिल गर्नुभएको छ ।
निर्वाचित भए लगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसअघि मत गणना स्थलबाट कुलेश्वरस्थित निर्वाचन परिचालन कार्यालय पुग्नुभएको थियो । आज दिउँसै स्युचाटार र लगनस्थित सम्पर्क कार्यालयमा पुगेर मतदातालाई धन्यवाद दिनुभएको थियो । त्यस अवसरमा उहाँले सबै मतदाताको सहयोगले आफूले निर्वाचनमा विजयी हासिल गरेको बताउनुभयो ।