Kath khabar
महामारीका कारण ३० प्रतिशत उद्योग मात्रै सञ्चालनमा, प्रदेश १ मा ८२ प्रतिशत बन्द

काठमाडौं, जेठ १९ । महामारीका कारण आर्थिक क्रियाकलाप ठप्प भएका छन् । जसका कारण खपतमा कमि आएको छ । एक हप्ता लामो खाद्य पसल बन्द बल्ल बुधबार देखि खुलेका छन् । माग कम भएपछि देशमा रहेका ३० प्रतिशत  उद्योग मात्रै सञ्चालनमा रहेको र ७० प्रतिशत बन्द रहेको देखिएको छ ।

उद्योग वाणिज्य महासंघले गरेको एक अध्ययन अनुसार सबैभन्दा बढि प्रदेश नम्बर एकमा धेरै उद्योगधन्दा तथा कलकारखाना बन्द अवस्थामा रहेका छन् । महासंघको अध्ययन अनुसार  प्रदेश नम्बर एकमा ८२  दशमलव सात प्रतिशत उद्योग बन्द अवस्थामा रहेका छन् ।

आपुर्ति प्रणाली पनि उपभोगमा कमि आएपछि प्रभावित भएको छ । रेष्टुरेन्ट बन्द अवस्थामा छन् । जसका कारण उद्योगधन्दाको उत्पादनको मागमा कमि आएको छ । त्यसैगरि कच्चा पदार्थको उपलब्धता र जनशक्ति व्यवस्थापनमा पनि उद्योगधन्दालाई महामारीले असर  गरेको छ ।

महासंघका अनुसार  गण्डकी प्रदेशका उद्योग अहिले २५ प्रतिशत मात्रै सञ्चालनमा रहेका छन् । ७५ प्रतिशत उद्योग महामारीका कारण बन्द रहेको उद्योग वाणिज्य महासंघले गरेको अध्ययनमा  देखिएको छ। त्यसैगरि  बागमती प्रदेशमा ६९ प्रतिशत उद्योगहरु बन्द अवस्थामा रहेको उद्योग वाण्ज्यि महासंघले जनाएको छ । महामारीका कारण यो क्षेत्रमा करिब ३१ प्रतिशत उद्योगहरुमा मात्रै सञ्चालनमा रहेका छन् ।

प्रदेशमा नम्बर २ मा ३१ प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहेका छन् । किनभने ६९ प्रतिशत उद्योग बन्द अवस्थामा रहेको महासंघले जनाएको छ । लुम्बीनी प्रदेशमा ६४ दशमलव पाँच प्रतिशत उद्योगधन्दा बन्द अवस्थामा रहेको छन् भने सुदुरपश्चीमा ५७ दशमलव सात र  कर्णालीमा ४५ दशमलव पाँच प्रतिशत उद्योगधन्दा बन्द रहेका छन् ।

कोरोना महामारीको दोस्रो लहरका कारण उपत्यकामा बैशाख १६ गते देखि र अन्य क्षेत्रमा त्यो भन्दा अघि देखिनै लागू गरिएको निषेधाज्ञाका कारण उद्योगधन्दा बन्द अवस्थामा रहेका  छन् । जसका कारण उत्पादन त प्रभावित भएको छ नै यसले कामदारको रोजिरोटी पनि खोसिएको छ ।

बिशेषगरि साना उद्योगधन्दा महामारीका कारण प्रभावित भएको र साना पुँजीले सञ्चालनमा आएकाले ति उद्योगधन्दामा आश्रित मजदुरले तलब पाउन कठिन भएको देखिन्छ । सरकारले साना उद्योगधन्दालाई लक्षित गर्दै लिएका सहुलियतपुर्ण ऋणका कार्यक्रम पनि खासै प्रभावकारी हुन सकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update