काठमाडौं, मंसिर ७ । फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को खेलमा जापानले जर्मनीलाई हराउँदै सानदार सुरुवात गरेको छ।
कतारको दोहामा रहेको खलिफा इन्टरनेशनल स्टेडियममा बुधबार राति भएको खेलमा जर्मनीलाई २–१ गोलको अन्तरले जित निकालेको हो ।
जापानलाई जित दिलाउनका लागि रित्सु दोआन र ताकुमा आस्नोले एक-एक गोल गरे । त्यस्तै जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे । खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
मैदानमा प्रवेश गरेको पहिलो मिनेटमै जापानका दोआनले गोल गर्दै जर्मनीविरुद्ध १–१ को स्थितिमा ल्याए । दोआनले खेलको ७४औं मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
त्यस्तै प्रतिस्पर्धात्मक खेलको ८३औं मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ ले सुनिश्चित गरे । यो जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।