
चितवन, मंसिर ८ । चितवन २ बाट भारी मतान्तरका साथ विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले विजय र्याली गर्न नचाहेको बताउनुभएको छ ।
उहाँले राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो त्यसैले म आजबाट नै जाँच दिन जाँदैछु, भन्नुभएको छ । भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउनेछु बताउँदै उहाँले भन्नुभएको छ -
राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न। म बिजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा "धन्यवाद सभा" गर्दैछु। एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा तपाईँका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका" लेखिएको हुनेछ। त्यसमा, भ्रष्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु ।।।