Kath khabar
मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट

 

              काठमाडौं, ८ ।  मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहेका बेला प्रहरी हवल्दारको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट भएको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।न्युरोडमा रहेको सुन बनाउने कारखानामा पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७  नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी  र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update