काठमाडौं, मंसिर १२। थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा नगरप्रहरी र बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।
घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूढा प्रहार गरेका थिए ।
झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।
यस्तै झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल नर्भिक अस्पताल पुगेका छन् । मेयर शाहले त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाको बिषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए ।