काठमाडौं, मंसिर १३। थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि पीडितहरु आन्दोलित भएका छन्। सुकुम्बासीहरुले उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिका घेरेका छन् ।
संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
सोमबार बस्ती हटाउन गएको महानगरको टोलीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गर्नुका साथै घरेलु हतियारसहित लिएर विरोध प्रदर्शन गरेका थिए। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका थिए।
यसअघि मंसिर ४ भित्र नदी किनाराका अतिक्रमित बस्ती खाली गर्न एकीकृत बागमती सभ्यता विकास समितिले सूचना निकालेको थियो। सोहीअनुसार बस्ती खाली गर्न महानगरको टोली सोमबार त्यहाँ पगेपछि स्थिति तनावग्रस्त बनेको थियो ।