काठमाडौं, मंसिर १६ । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ। नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरूको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरूबीचको मतभेद र भिन्नताहरूले द्वन्द्व निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् । ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ। यो सांगीतिक तथा शारीरिक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।
किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?
शुक्रबार प्यानल डिस्कसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ। रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।
चौतारी नाटक र साङ्गीतिक कविता
शुक्रबार नै नेपाल र भारतको कलाकारहरू मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरूले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरूले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरूपमा ढालेर प्रस्तुत हुनेछन् ।
त्यस्तै साँझ ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र सङ्गीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।
बिहीबार र के के भए ?
सातौँ दिन बिहीबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।
त्यस्तै साँझ भएको ‘थिएटर शिक्षाः अवसर र चुनौती’ प्यानल डिस्कसनका प्रा.डा. अभि सुवेदी, डा. शिव रिजाल, त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका प्रमुख कुसुम शाक्य, पाठ्यक्रम विकासका खिलानाथ धमलाका साथ शिशिर उप्रेतीले अन्तरक्रिया गरेको थियो ।
त्यस्तै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । महोत्सव शनिबार समापन हुँदैछ ।