Kath khabar
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ४० करोड कम बजेट

काठमाडौं, जेठ १९ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०७८/७९का लागि चालु आर्थिक वर्षको तुलनामा ४० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आगामी आर्थिक वर्ष ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताउनु भयो। जुन चालु आर्थिक वर्ष (०७७/७८)को भन्दा ४० करोड रुपैयाँ कम हो। 

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् थप २ लाख रोजगारी उपलब्ध गराउने बताउँदै १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्चित गरिनेछ। स्थानीय स्तरमा सञ्चालन हुने सडक सिंचाई, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगातय संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउनु पर्नेगरी खरिद सम्झौता गर्नुपर्ने व्यवस्था मिलाइनेछ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न १२ अर्ब विनियोजन गरेको छु’, चालु आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको छ । 

यस्तै,‘प्रधानमन्त्री रोजगार कार्यक्रमको दायर विस्तार गरी संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गरिनेछ। यो कार्यक्रम मार्फत् थप २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड बजेट व्यवस्था गरिएको छ,’ आगामी आर्थिक वर्षकोे बजेट वक्तव्यमा भनिएको छ । 

बजेट कार्यान्वयन प्रभावकारी बन्न नसक्दा तोकिएको संख्यामा रोजगारी पाउन सकेको छैनन्। यस वर्ष पनि करिब आर्थिक वर्षको अन्त्यतफै जादै गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ७९ हजार जनाले रोजगारी पाएको श्रम, रोजागार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जुन रोजगारी प्राप्त गर्ने युवाको संख्या विनियोजित बजेटको करिब ४० प्रतिशत हो। मन्त्रालयले साढे ७ लाख भन्दा बढी युवाहरु बेरोजगारको सूचीमा दर्ता भएको समेत जनाएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update