रुकुम पश्चिम, मंसिर १६ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।
त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।
मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगाएकोमा अहिलेसम्म त्यसबाट ८० क्विन्टल अदुवा निकालिसकेको बताउनुभयो । अदुवा खेती गर्न सजिलो हुने भएकाले मकै छोडेर यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।
पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल ४ हजार रुपैयाँ सम्ममा खरिद गर्ने गरेका छन् । सडकको सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानको भनाइ छ । यहाँका किसानले अदुवा बेचेर १ सिजनमा झन्डै ५ लाख रुपियाँ सम्म आम्दानी गर्ने गरेका छन् ।
कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले यस सिजनमा अहिलेसम्म झन्डै १ हजार ८ सय मेट्रिक टन अदुवा जिल्ला बाहिर निर्यात भएको जानकारी दिनुभयो । उहाँका अनुसार औसतमा प्रतिकिलो ४० रुपियाँमा अदुवा बिक्री हुने गरेको छ । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र १ सय ८० हेक्टर जमिनमा अदुवा लगाइएको थियो । अझै पनि किसानले बारीबाट अदुवा निकाल्दै गरेका निमित्त प्रमुख केसीले बताउनुभयो ।
यस गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोटडाँडामा अदुवा सङ्कलन गरि जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका, आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका केही वडामा अदुवा राम्रो उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रुपियाँ भित्रिने गरेको छ ।