चितवन, मंसिर १८ । चितवनको वाल्मीकि आश्रम र नवलपरासी जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। ऐतिहासिक र धार्मिक महत्वको वाल्मीकि आश्रम जाने पुल निर्माण सम्पन्न भए पनि प्रयोग गर्न नपाएको स्थानीय बासिन्दाले बताएका छन्।
उक्त पुल ठेक्कामा लागेको ९ वर्षपछि निर्माण सम्पन्न भएको हो। २०७० सालमा ठेक्का लागेको उक्त पुल निर्माण ढिलो हुनुका कारणमा एउटा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) विवाद रहेको थियो। चितवन राष्ट्रिय निकुञ्जले ईआईए नगरेको भनेर प्रश्न उठाएपछि त्यसको निर्माण ३ वर्ष रोकिएको थियो।
त्यसपछि २०७४ सालमा कामको जिम्मा लिएको कम्पनीले निर्माण सुरु गर्न नसक्दा अर्को कम्पनीलाई त्यसको जिम्मा लगाइएको बताइएको छ। २०७६ कात्तिकबाट काम सुरु गरेको निर्माण कम्पनीले साढे २ वर्षमा त्यसको निर्माण सकेको बताएको छ। उक्त पुल चितवनको माडी नगरपालिका-१ स्थित वाल्मीकि आश्रम जान नेपालभित्रैबाट बाटो नभए पछि निर्माण गरिएको हो।
बाल्मीकि आश्रम चितवन राष्ट्रिय निकुञ्जभित्र नेपाल-भारत सिमानामा पर्छ। चितवन राष्ट्रिय निकुञ्जले बाटो खोल्न अनुमति नदिँदा पुल सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा नारायणप्रसाद उपाध्यायले बताए।
त्यसले गर्दा स्वदेशी भूमिबाट वाल्मीकि आश्रममा जान नपाइएको र भारतीय बाटो भएर त्यहाँ जाँदा अनावश्यक झमेलाको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
निकुञ्जको भनाइ :
पुल निर्माण सम्झौता गर्दा निकुञ्जका लागि सुरक्षापोस्ट निर्माण गरिदिने सहमति भएको अधिकारीहरू बताउँछन्।
तर त्यसकै कारणले पुल सञ्चालन रोक्नु नहुने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर पुल सञ्चालनमा ल्याउन निर्देशन दिइसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक महेश्वर ढकालले बताए। निकुञ्जतर्फ बाटो खोल्नका लागि बजेट अपुग भए विभागले त्यसलाई पूर्ति गर्ने उनले बताए।
सुरक्षा पोस्टका लागि जग्गाका कारणले ढिलो भएको भन्दै "अब चाँडै नै सुरक्षा पोस्ट निर्माण गरी पुल सञ्चालनमा ल्याउने" सस्पेन्सन ब्रिज डिभिजन कार्यलयका सीडीई गौरीप्रसाद श्रेष्ठले बताए।