काठमाडौं, मंसिर १८ । प्रकृतिमा प्राप्त हावा, पानी, ताप, जमिन र आकाशको वास्तविक सम्बन्धलाई सही रूपमा उपयोग गर्न सक्नु नै वास्तुशास्त्रको सैद्धान्तिक देन मानिन्छ । विश्व अस्तित्वमा रहेको प्राकृतिक चीजलाई वास्तु भनिन्छ । जुन चीजलाई गुणात्मक रूपमा समेटेर राम्रो नराम्रो तरिकाबाट व्याख्या गरिन्छ, त्यसलाई वास्तुशास्त्र भनिन्छ। मानव जीवनमा वास्तुशास्त्रले ठूलो प्रभाव पारेको हुन्छ । मानव जीवन सही तरिकाले ज्युन सकोस् भनी यस शास्त्रको उत्पत्ति भएको मानिन्छ । मानिसको सम्बन्ध अरु वस्तुसँग कसरी गर्ने बोटविरुवा र अन्य प्राणीहरूसँग कस्तो सम्बन्ध रहेमा मानव जीवन कल्याणकारी बन्न सक्छ भन्ने बारेमा सिकाउने शास्त्र वास्तुशास्त्र हो ।
मानिसको जीवनमा नभई नहुने चिज आवास हो । यसलाई कसरी सहज रूपमा बस्न योग्य ठाउँ बनाउन सकिन्छ भनी दिइने ज्ञान वा उपायलाई वास्तुशास्त्र भन्ने गरिन्छ । यो शास्त्रले विभिन्न पक्षलाई अंगिकार गरी निर्माण गरेको मानवीय भवनमा सुख शान्ति र समृद्धि हुन सक्छ । यस शास्त्रको नियमबमोजिम भवन निर्माण गर्ने कार्य समेट्न प्राविधिक तथा वैज्ञानिकहरूले ध्यान दिनु अति आवश्यक देखिन्छ । वास्तुशास्त्रको ज्ञानलाई धेरै मानिसहरूले ख्याल गर्दैनन् ।
त्यसकारण सुख, शान्ति, धन आर्जनमा समस्या, स्वास्थ्यमा समस्या, झै-झगडा र झन्झटहरू नै घरनिर्माणमा वास्तु नमिलेको भनी जान्नु उपयुक्त हुनेछ । छोटकरीमा भन्नुपर्दा वास्तुशास्त्रको नियमअनुसार गरेको निर्माण कार्यमा मानव जीवन र प्रकृतिमा रहेको पञ्चतत्व बीचको सम्बन्धले मानवजीवनमा ऊर्जा प्राप्त हुनेछ । प्रकृतिलाई हामी वास्तु भनी जानकारीमा लिन सक्छौं । प्रकृति वा वास्तुमा पाँचवटा मुलभूत तत्वहरूको मिलनबाट सञ्चालन भएको हुन्छ । त्यसलाई हामी पञ्चतत्व भन्दछौं । ती पञ्चतत्वहरू आकाश, हावा, पानी, ताप (अग्नि) र पृथ्वी हुन् ।
सौर्यमण्डलको उत्पत्ति लगतै प्रकृतिमा पञ्चतत्वको पनि उत्पत्ति भयो । सौर्यमण्डलको एउटा (सानो पिण्ड) पृथ्वीमा उपयुक्त पञ्चतत्वको तारताम्या मिल्न पुग्यो र पृथ्वीमा प्राणी वनस्पति (बोटविरुवाहरूबाट) बस्तीयोग्य ठाउँ बन्न पुग्यो । यिनीहरू पनि पञ्चतत्वबाट बनेको हुन्छ । यी पञ्चतत्व नभएको भए पृथ्वीमा मानव जीवन र अन्य प्राणीहरू बोटविरुवा रहन सक्दैनथ्यो । जसरी वास्तुशास्त्रमा प्रकृतिमा रहेका पञ्चतत्वको आवश्यक छ त्यस्तै गरी विज्ञानमा पनि प्रकृतिमा रहेका पञ्चतत्वको आवश्यक छ । त्यसैले वास्तुशास्त्रलाई विज्ञान भनिन्छ किनकी प्रकृतिमा रहेका पञ्चतत्वको प्राकृतिक नियम अनुसार चल्नुपर्छ ।
सौर्यमण्डलको नौ ग्रह तथा उप-ग्रहहरूको गति, सूर्य र चन्द्रमा आदि ग्रहहरूको मनुष्य, प्राणीहरू, बोटविरुवा र भूमण्डल साथै वास्तु-मण्डलमाथि तिनीहरूको प्रभाव पर्दछ । ज्योतिषशास्त्र अनुसार १२ राशिहरू र २८ नक्षत्रहरूमा ९ ग्रहहरूको प्रभाव आदि यी सबै सिद्धान्त विज्ञान सम्वधित छन् भने त्यसैगरी यी उपर्युक्त सिद्धान्तहरू भारतवर्षको वास्तुशास्त्रमा आधारित रहेको छ। नेपालको भूमण्डल प्राकृतिक नियमहरू भारतवर्षको वास्तुशास्त्र र ज्योतिषशास्त्रको बढी अनुशरण गरिन्छ । किनकी नेपालको तिनैतिर मित्रराष्ट्र भारतीय भूमिको सिमानासँग जोडिएको छ ।
वास्तुशास्त्र र पाश्चात्य वास्तुशास्त्र भन्दा भारतवर्षको वास्तुशास्त्रमा धेरै भिन्नता पाईन्छ । हालसाल भारत लगायत नेपालमा पनि भवन निर्माणमा आधुनिक विज्ञानको ज्ञान प्रयोग गरी सुख, सुविधा र समृद्धिलाई ध्यानमा राखेर कमभन्दा कम भूखण्डको प्रयोग गरी कमभन्दा कम खर्चमा धेरै तला भएको भवन बनाएर जनसमुहलाई बितरण गरिन्छ । यसरी बनाएको भवनले भौतिक सुख र सुविधा पाउन सकिन्छ तर यी निर्माण भवनको वास्तुशास्त्र विधिबाट पूर्णरूपमा नहुनाले सोही भवनमा निवास गर्ने मानिसहरूलाई रोग, शोक, निर्धनता, दुःखले घेरिरहेको हुन्छ । यस्तो नकारात्मक क्रियाकलापबाट न्युनिकरण गर्न बढी भन्दा बढी वास्तुशास्त्रको सिद्धान्त अनुरूप सुधारको प्रयोग गर्नु उपयक्त हुन्छ ।
अहिलेको समयमा भारत र नेपाल समेत भवन निर्माणमा आ-आफ्नो कला अनुसार निर्माण गर्न अग्रसर हुन्छन् भने पाश्चात्य र पश्चिमाहरूले आ-आफ्नो कलाको स्वरूप भवन निर्माणमा प्रयोग गरेको पाईन्छ। वास्तुपरक र जुन किसिमको उपयुक्त आवश्यक मन्त्र, विधिहरूमा भवन निर्माण गरेको पाईदैन । किनकी भवनहरूको हरेक कोठामा सूर्यको प्रकाश, स्वच्छ हावाको आवागमन, सुत्ने कोठाहरू, पूजाकोठा, अध्ययन कोठा, अध्यपन कोठा र गेष्टको लागि कोठा आदि उपयुक्त स्थानको कमी रहन्छ यस किसिमले निर्माण भएको भवनमा मानिसहरू बस्न वाध्य हुन्छन् र अस्वभाविक रूपमा कष्ट भोग्नुपर्ने हुन्छ ।
बितेका समयमा राजामाहाराजाहरूले भारतवर्षमा शासन गर्दा धेरै तला भएको ठूला भवन बनाएको पाईन्छ ती भवनहरू वास्तुशास्त्रको सिद्धान्तमा, विधिविधानमा आधारित भएको कारणले सुखदायीको अनुभव प्राप्त गर्दथे । त्यस्तै नेपालको राजामाहाराजाहरूले शासन गर्दा पनि धेरै तला भएको ठूला भवन बनाएको पाईन्छ जसमा पञ्चतत्वहरूको समुचित विधिविधान र उपयोगबाट सुखदायीको अनुभव गर्दै एक छत्र शासन गरेको उदाहरणहरू छन् । जस्तैः त्रेता युगमा जनकपुरको राजा जनक, नेपालका मल्लकालिन राजाहरू, नेपालका शाहकालिन राजाहरू र रणाकालिन शासकहरू आदि ।
वास्तुशास्त्रको सिद्धान्तमा पञ्चतत्वः आकाश, हावा , पानी , ताप (अग्नि), पृथ्वी (जमीन) लगायत नौ ग्रह, राशी र नक्षत्रको अति आवश्यक छ त्यसैगरी विज्ञानमा यी पञ्चतत्व लगायत नौ ग्रह, राशी, नक्षत्रको त्यतिकै महत्व छ । विज्ञानको खोज खबरमा यी उपयुक्त पञ्चतत्व लगायत नौ ग्रह, राशी र नक्षत्रको आवश्यक देखिन्छ । वास्तुशास्त्र र विज्ञानको एक आपसमा सम्बन्ध छ भन्न सकिन्छ । पूर्व तथा उत्तर दिशा तर्फ बढी खुल्ला ठाउँ राख्नु पर्ने भनिएको छ किनकी बिहान सूर्यको उपयुक्त किरण प्राप्त गरिनेछ । भवनको आग्नेय कोणमा भान्साकोठा बनाउने वास्तुको नियम हो यस कोणमा बिहानको समयमा भिटामिन युक्त सूर्यको किरण आगमन हुन्छ साथै स्वच्छ हावाको आगमन हुन्छ ।
पृथ्वीले सूर्यलाई परिक्रमा दक्षिणायनतिरबाट हुन्छ त्यसैले भवनको यो कोणमा अल्ट्राभ्वाइलेट रेज, जुन भिटामिन डि प्रर्याप्त हुन्छ, यो धेरै समयसम्म पाईन्छ । यसले भान्सामा राखिएको खाद्य पदार्थ स्वच्छ पार्छ । ईशान कोणमा ध्यान गर्ने कोठा बनाउने वास्तुको नियम हो । यस कोठामा पूजा गर्दा हाम्रो शरीरमा थोरै कपडा लगाइन्छ जसले गर्दा बिहान सूर्यको उपयुक्त किरणले पूजा गर्ने व्यक्तिको शरीरमा भिटामिन डि प्राप्त हुन्छ । भवनको उत्तर दिशाबाट पृथ्वी (जमीन) को चुम्बकीय शक्ति अति प्रभावशाली भएको हुन्छ त्यसैले उत्तर दिशा सबै भन्दा पवित्रको दिशा भनिन्छ । यस दिशा तर्फ भवनलाई धेरै सफा राखिन्छ । यो दिशामा अन्तरिक्षबाट अलौकिक उर्जा प्राप्त हुनेछ । यही कारणबाट भवनको गेट वा ढोका र मन्दिरको प्रवेश गर्ने ढोका यसै दिशाबाट राखिने गरिन्छ ।
वास्तुशास्त्रको सिद्धान्तमा चुम्बकीय प्रभावलाई कवेरको ठाउँ मानिएको छ, त्यसैले व्यापारिक स्थानमा उत्तर तर्फ मुख फर्काएर वस्नु उत्तम मानिन्छ । यसको पछाडि विज्ञानको सैद्धान्तिक मान्यता उत्तर तर्फबाट चुम्बकीय ऊर्जा प्रवाह हुने हँुदा मानिसको मस्तिष्काको कोशिका छिटै सक्रिय हुने र सम्झना सक्ने शक्तिलाई बढाउनेछ भुक्तानीको लागि वा लेनदेन गर्न चेक बुक आफ्नो दाहिने हात तर्फ राख्नु उत्तम मानिन्छ । यसरी वास्तुशास्त्र र विज्ञानको एक पछि अर्को आन्तरिक सम्वन्ध रहेको भन्न सकिन्छ ।