काठमाडौं, जेठ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तराष्ट्रिय उडान खुलेसँगै उडान तालिका समेत सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय उडान मंगलबारदेखि खुलेसँगै नागरिक उड्डयन प्राधिकरणले भारतसहित तीनवटा गन्तव्यमा उडानका लागि समयतालिका समेत सार्वजनिक गरेको छ ।
तालिका अनुसार टर्किस एयरलाइन्स, नेपाल वायुसेवा निगम, कतार एयरवेज र एयर इण्डियाले नियमित उडान गर्नेछन् । यस अघि नेवानि र एयर इण्डियाले एयर बबल सम्झौताअनुसार दिल्ली-काठमाडौं नियमित उडान गर्दै आएका थिए भने टर्किस र कतार एयरवेजले पुनः नियमित उडान शुरु गर्न लागेको हो । यस्तै मन्त्रालयले चीनका लागि पनि दुईतर्फी उडान खोल्ने निर्णय गरेको छ । दुईतर्फी उडानका लागि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन सरकारलाई प्रस्ताव गरिसकेको जनाएको छ ।
गत साता सरकारले टर्की, चीन र कतारतर्फ नियमित उडान पुनः शुरु गर्ने निर्णय गरेसँगै अन्तराष्ट्रिय उडान सहज भएको हो । प्राधिकरणका अनुसार नेपाल-चीन उडानका लागि नेपालबाट हिमालय एयरलाइन्स र चीनका तर्फबाट एउटा वायुसेवा कम्पनीले साताको एउटा उडान गर्ने तयारी गरेको छ ।
यात्रु सहजतालाई मध्यनजर गर्दै सरकारले चीन, टर्की, कतार लगायतका गन्तव्यमा नियमित उडान पुनः शुरु गर्ने निर्णय गरेको थियो । बुधबार हिमालय, नेविन र कतारले कार्गो उडान तथा टर्कीसले नियमित उडान भर्ने जनाएको छ । अन्तराष्ट्रिय उडान सरकारले खुला गरेसँगै मलेसिया तथा खाडी मुलुकमा समेत उडान खुला गर्नको लागि प्राधिकरण समक्ष धेरै आग्रह आएको बताइएको छ भने उडान खुलाको विषय आफूले नगर्ने भन्दै कूटनीतिक नियोगमा सम्पर्क गर्न आग्रह गरिएको छ ।