Kath khabar
नास्टद्वारा विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान गर्नेलाई १२ लाखसम्मको सहयोग


                 काठमाडौं, मंसिर २०।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न १२ लाख रुपैयाँसम्मको सहयोग दिने भएको छ । एक सूचना जारी गर्दै नास्टले इच्छुक अनुसन्धानकर्ताबाट आवेदन प्रस्ताव माग गरेको हो । 

नास्टले चालू आर्थिक वर्ष २०७९/८० देखि सञ्चालित ‘युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम’ अन्तर्गत यो अनुसन्धान प्रस्ताव माग गरिएको जनाएको छ ।

विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक वा प्राविधिज्ञहरूले पुष १२ गतेभित्र आफ्नो अनुसन्धान प्रस्ताव र आवेदन दर्ता गराउन सक्नेछन् ।

इच्छुक व्यक्ति अथवा संस्थाहरूले आफ्नो अनुसन्धानको प्रस्ताव तथा आवेदन इन्फो एट नास्ट डट ओआरजी डट एनपीमा ईमेल पठाउन सक्नेछन् । यो कार्यक्रममा ४० वर्ष पूरा नभएका व्यक्ति वा व्यक्तिहरूको समूहले मात्र सहभागी हुन पाउनेछन् ।

साथै नास्टको ७ प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने  प्रस्तावित अनुसन्धानको विषय प्राथमिकतामा पर्ने उल्लेख छ । 

प्रस्ताव पेश गर्दा बजेटको अधिकतम सीमा व्यक्ति र समूहगत अनुसन्धानको लागि बढीमा ५ लाख रुपैयाँ, संस्थागत अनुसन्धानको लागि १० लाख रुपैयाँ र बहु विधागत अनुसन्धानका लागि १२ लाख रुपैयाँ तय गरिएको छ ।

त्यस्तै माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि बढीमा ५० हजार रुपैयाँ र क्याम्पस स्तर (स्नातक) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रमका लागि बढीमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । 

त्यसैगरी वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न बढीमा १ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update