काठमाडौं, मंसिर २३। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकसित समाज निर्माण्को लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ । भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानुनको पूर्ण पालना गर्न निर्देशन गर्दछु । भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ ।’
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताउनुभयो । समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आउँदा दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार मुक्त समुन्नत राष्ट्र निर्माणमा सबैलाई प्रतिबद्ध भइ अघि बढ्न आग्रह गर्नुभयो ।
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।