काठमाडौं, मंसिर २५ । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असतुष्टी जनाउनुभएको छ । मन्त्रालय सम्हाले लगत्तै खासगरी उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमन सुरु गर्नुभएको छ ।
शनिबार भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गर्नुभएको छ । ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।
‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गर्नुभयो । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्यो मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो । त्यसलगत्तै शहरी मन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा जानु भयो । त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बन्नुभयो । सम्बन्धित पक्षलाई उहाँले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिनुभयो ।