Kath khabar
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन

                       

                        काठमाडौं, मंसिर २६ ।  सोमबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा भिन्न दृष्य देखियो । फुटबल खेल्नका लागि मैदानमा देखिएका खेलाडीहरु जर्सीमा त थिए, तर उनीहरुको शारीरिक बनावट भने व्यवसायिक खेलाडीको झैँ देखिएको थिएन ।

वास्तवमा उनीहरु खेलाडी नभइ काठमाडौं महानगरपालिकाका पदाधिकारीहरु थिए । महागनरको २८ औं दिवस मनाउने क्रममा सोमबार बिहान महानगरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

महानगरले प्रमुख ११ तथा प्रमुख प्रशासकिय अधिकृत ११ बीच रमाइलो फुटबल खेलको आयोजना गरेको हो । ९० मिनेटसम्म खेलिएको उक्त रमाइलो फुटबलमा प्रमुख ११ लाई प्रमुख प्रशासकिय अधिकृत ११ ले आधा दर्जन गोल हान्दै विजयी भएको छ ।

रंगशालाको मैदानमा फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका २ वटा टिम आपसमा भिडेका हुन् । मेयर ११ टीमका नेतृत्व मेयर बालेन्द्र साह (बालेन) ले गरेका थिए भने प्रमुख प्रशासकीय ११ टीमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।

मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।

प्रमुख ११ टीमका कप्तान बालेन साह खेलको उत्तराद्र्धमा मात्र मैदानमा प्रवेश गरे । बालेन मैदान प्रवेश गर्ने बेलासम्म उनको टीमले ५ गोल खाइसकेको थियो । प्रमुख ११ टीमका तर्फबाट बालेनले मध्य क्रमबाट खेलेका थिए ।

महानगरकी उपप्रमुख सुनिता डंगोल दर्शकको रुपमा सहभागि भइन्, उनी खेलाडीको रुपमा मैदानमा आइनन् ।
दुबै टिमका झण्डै ५० जना खेलाडी मैदानमा प्रवेश गर्दै खेलिएको यो खेलमा प्रमुख प्रशासकिय अधिकृत ११ ले प्रमुख ११ लाई ६-१ को गोल अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update