Kath khabar
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ


                            काठमाडौं, मंसिर २६ ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गर्ने आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतवार पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो । 

‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको पाइएको छ ।

पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् । उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद, रसिद सहित ५ लाख ८ हजार ६ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताउनुभयो ।

उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update