Kath khabar
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त


                 काठमाडौं, मंसिर २९ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई हराउँदै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । कतारमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो पटक सेमिफाइनल पुग्ने मोरक्कन टोलीको फाइनल पुग्ने सपना चकनाचुर भएको छ । उपाधिको खेल १८ डिसेम्बरमा हुनेछ ।

फ्रान्सेली फुटबल टोली समग्र चौथो राउण्डको फाइनलको टिकट पाउन सफल भएको छ । सन् १९९८ र २०१८ मा फ्रान्स विश्व च्याम्पियन भएको थियो । मोरक्कोको टोलीले अब तेस्रो स्थानका लागि डिसेम्बर १७ मा क्रोएसियासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग क्रोएसिया पराजित भएको थियो ।

पाँचौं मिनेटमा फ्रान्सले अग्रता लिएको थियो
खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले फ्रान्सका लागि पहिलो गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा फ्रान्सले १-० को अग्रता लिएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । मुआनी वैकल्पिक खेलाडीको रुपमा मैदान उत्रिएका थिए । विश्वको चौथो टोली फ्रान्सको अगाडि विश्व नम्बर २२ टोली मोरक्कोले गोल गर्न सक्दो प्रयास गरे पनि त्यसका खेलाडी सफल हुन सकेनन् ।

फ्रान्स र मोरक्कोको टोलीबीचको यो समग्र १२औं खेल थियो। जसमा फ्रान्सले ८ जित हात पारेको छ भने मोरक्कोको खातामा १ जित छ । तीन खेल बराबरीमा सकिएको छ । हालको विश्वकपमा फ्रान्सेली टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो विश्वकपमा फ्रान्सले एक खेल मात्र हारेको छ । सन् २००२ पछि पहिलो पटक फिफा विश्वकपमा कुनै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि ब्राजिलको टोलीले लगातार तीन पटक उपाधि जितेको छ । ब्राजिलको टोली सन् १९९४, १९९८ र २००२ मा फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update