काठमाडौं, मंसिर २९ । निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।
सो अवसरमा सम्माननीय राष्ट्रपतिले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको स्पष्ट गर्नुभयो। लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवाद दिनुभयो ।
साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
प्रतिवेदन पेश गर्नुहुँदै आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्तसहित माननीय आयुक्तहरू श्री ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।