Kath khabar
कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात



                काठमाडौं, मंसिर २९ । कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको चार महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु निर्यात ३३ दशमलव तीन प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय चार दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु आयात १८ दशमलव एक प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ दशमलव छ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव पाँच प्रतिशत, २० दशमलव नौ प्रतिशत र २० दशमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाबिन तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई चार खर्ब ७७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव तीन प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।


 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update