काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताउनुभयो।
मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने उहाँले बताउनुभयो । संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने र काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा उहाँको जोड छ।
प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो ।