Kath khabar
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई


              काठमाडौं, पुस १ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकले कडाई गरेको छ ।

सो अनुसार कुनै पनि किसिमको अपराधिक पृष्ठभुमिका व्यक्ति बैंकिङ क्षेत्रमा सञ्चालक हुन अयोग्य भएका छन् । राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गर्दै आपराधिक पृष्ठभुमिका व्यक्तिहरु बैंकिङ क्षेत्रमा सञ्चालक हुन अयोग्य हुने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनी, पुर्वाधार विकासबैंक र लघुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भई सकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको पाँच वर्ष भई नसकेको व्यक्ति वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा सञ्चालक हुन पाउने छैन ।

पुर्वाधार विकास बैंकको हकमा पनि राष्ट्र बैंंकले बिहिबार नैं परिपत्र जारी गरी सञ्चालक सम्वन्धी व्यवस्थामा कडाई गरेको छ। सो अनुसार नेपाल राष्ट्र बैंंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र पुर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष भई सकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष भई नसकेको व्यक्ति पुर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउने छैन ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा पनि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र लघुवित्त वित्तीय संस्थामा सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष भई सकेको व्यक्ति लघुवित्त सञ्चालक हुन पाउनेछ ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष भई नसकेको व्यक्ति कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुमा सञ्चालक हुन नपाउने व्यवस्था रहेको छ ।    

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update