Kath khabar
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

जेरुसेलम, २० जेठ ।  इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनु भएको छ ।

देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गर्नु भएको थियो । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति हुनुहुन्छ । उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गर्नु भएको थियो ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गर्नुभयो । साठी वर्षीय हर्जोगले भन्नुभयो, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।”

हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता हुनुहुन्थ्यो । उहाँ सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिनु भएको थियो । हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत हुनुहुन्थ्यो । उहाँका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहनु भएको थियो ।

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उहाँ मोरक्कोबाट सानैमा इजरायल बसाईँ सर्नु भएको थियो । उहाँले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नु भएको  छ । उहाँका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ ।

सन् २०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक “इजरायल प्राइज” बाट सम्मानित गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नुहुनेछ । (रासस)

 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update