काठमाडौं, पुस १ । ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनु भयो ।
त्यसैगरी उँहाले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडासम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो ।
‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’ उँहाले भन्नुभयो ।
मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताउनु । यो ऐन सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उँहाले उल्लेख गर्नुभयो ।