Kath khabar
१७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण

 

                         काठमाडौं, पुस १ ।  राणाशासन अन्त्य भएको एक दशक पुग्नै लागेको थियो। झन्डै एक वर्षअघि सम्पन्न निर्वाचनबाट नेपालमा पहिलो पटक प्रजातान्त्रिक सरकार गठन भएको थियो।

त्यसै बेला राजा महेन्द्रको ३ महिना भन्दा लामो विदेश भ्रमण तय भयो। उनको औपचारिक भ्रमणको तालिकामा जापान, संयुक्त राज्य अमेरिका र क्यानडा थियो ।

तर राजा महेन्द्रले ती देशबाहेक केही अन्य मुलुकको अनौपचारिक भ्रमण गरे र नेपाल फर्किएका थिए ।

भ्रमण पछिको कदम :

उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै ५ महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ।

राजा महेन्द्रले २०१७ साल पुष १ गते प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्नमा उनको उक्त विदेश भ्रमणको पनि भूमिका थियो वा थिएन भन्नेबारे अध्येताहरू बीच मतैक्य छैन।

तर उक्त भ्रमणबाट नेपाल फर्कने क्रममा भारत र पाकिस्तान दुवैले आफ्नो भनेर दाबी गर्दै आएको विवादित कश्मीरमा चाहिँ राजा महेन्द्रले भ्रमण गरेको प्रमाण भेटिएको इतिहासकारहरूले लेखेका छन्।

केआई सिंहले प्रधानमन्त्री बनेका बखत एकपटक "कश्मीर भारतको अभिन्न अङ्ग भएको" बताएको बाहेक नेपालले कश्मीर विवादमा कसैको पक्ष लिएको नदेखिएको इतिहासकारहरूको भनाइ छ।

सन् १९६० को जुलाईमा भारत-प्रशासित कश्मीरमा भएको महेन्द्रको भ्रणमको उद्देश्यबारे पनि इतिहासकारहरूले खासै खुलाउन सकेका छैनन्। तर उक्त विवादित भूमिमा सन् १९४७ पछि भ्रमण गर्ने नेपालका उच्च व्यक्तित्वमा राजा महेन्द्र मात्र रहेको देखिएको कूटनीतिक इतिहासका जानकारहरू बताउँछन्।

उनले युद्धका बेला पाकिस्तानविरुद्ध गोर्खा फौजलाई प्रयोग नगर्न भारतलाई आग्रह गर्नु भनी पाकिस्तानले राखेको प्रस्तावलाई पनि नेपालले त्यसबेला नमानेको लेखेका छन्।

श्रोत:बीबीसी

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update