महोत्तरी, पुस ३ । भंगहा नगरपालिका-७ मा थारु संग्राहलय बन्ने भएको छ । थारु संग्राहलय निर्माण स्थलको निरीक्षण पछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्राहलय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
थारू जाती इमानदार र मेहनेती भएको बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुले नेपाली भूमिको समेत सुरक्षा गरेका छन् । तपाईँहरू सङ्ग्रहालयको गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’ थारु समुदाय राजनीतिमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गर्नुभएको थियो ।
मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदीप कुमार चौधरीले संग्रहालय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो । ‘संग्राहलय करिब ८ बिघामा बन्नेछ । थारु भेषभुषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरू, उत्सवहरु मनाउने व्यवस्था हुनेछ ।
यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ ।’ उत्साहित हुँदै उहाँले सुनाउनुभयो । थारु संग्रहालयको अनुमानित खर्च ६ करोड हुने बताइएको छ ।