Kath Khabar
मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण

 

                          काठमाडौं, पुस ३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली काङ्ग्रेसका पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।

उनले २०७७ मै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रुपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको उल्लेख गरे । खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्ची सहित अन्य विकल्प र श्रोतहरूको समेत अध्ययन भइरहेको चौधरीले जानकारी दिए ।

कार्यक्रममा सांसद मोहन बहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दिपकुमार उपाध्याय, गोकर्णेश्व नगरपालिकाका प्रमुख दिपक रिसालले चौबिसै घण्टा उपत्यकावासीलाई स्वच्छ र पिउन योग्य पानी वितरण गर्न सक्ने गरी व्यवस्था गर्न मेलम्ची आयोजनाका कारण प्रभावित स्थानीयको समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update