काठमाडौं, पुस ३ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २७ दशमलव ५४ अंकले घटेर १८ सय ५५ दशमलव शुन्य छ अंकमा सिमित भएको छ ।
यसैगरी सेन्सिटिभ पाँच दशमलव २२ अंकले घटेर तीन सय ६२ दशमलव ८२ अंकमा सिमित भएको छ । दुई सय ५० वटा कम्पनीहरुको २६ हजार छ सय ६१ पटकको कारोबारमा ३७ लाख ७८ हजार नौं सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १९ दशमलव ५८ अंकले घटेर १२ सय ६५ दशमलव ८० अंकमा पुगेको छ भने जलविद्युत समुहको सुचक पनि ४० दशमलव ५३ अंकले घटेर १९ सय ५० अंकमा पुगेको छ । जीवन बीमा, निर्जिवन बीमा, विकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इस्टर्न हाईड्रो पावर लिमिटेड, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी लिमिटेड, मल्टीपर्पोज फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने रुरु जलविद्युत परियोजना, पिपुल्स हाईड्रो पावर कम्पनी, मञ्जुश्री फाईनान्स, महालक्ष्मी विकास बैंक आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने कृषि विकास बैंक, नेपाल बैंक, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट आदि परेका छन् ।