Kath khabar
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा



             काठमाडौं, पुस ३ । चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएका दुईजनालाई सवारी साधन सहित ट्राफिक प्रहरीले आइतबार जिल्ला प्रहरी परीसर जावलाखेल, ललितपुरमा बुझाएको छ । 

रामेछापको दोरम्बा-५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाण्डौको सुन्धारा बस्ने २१ वर्षिय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि आजै परीसर जावलाखेल बुझाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।

खोजतलास गर्ने क्रममा वास्तबिक नम्बर परिवर्तन गरी बागमती प्रदेश–०२–०१९ प ९५६४  नम्बर प्रयोग गरी मोटरसाईकल चलाउँदै गर्दा हिजो अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनिहरूलाई नियन्त्रणमा लिएको थियो । यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरिसकेको छ ।

यस्तै चोरीका १९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागी सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ ।

प्रवक्ता भट्टका अनुसार ट्राफिक प्रहरीले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणका कार्य निरन्तर गर्दै आएतापनि, यस्ता कार्यलाई नियन्त्रण गर्न स्वयं सवारी धनी पनि विशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने सकेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने बताउनु भएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update