काठमाडौं, पुस ३ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि तेस्रो पटक विश्व च्याम्पियन बनेको छ ।
दोहाको लुसेल रंगशालामा आइतबार अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फुटबल २०२२ को फाइनलमा पछिल्लो दुई पटकको च्याम्पियन अर्जेन्टिनाले फ्रान्सलाई निकै रोमाञ्चक र पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै विश्वकपको उपाधि जितेको छ ।
यसअघि अर्जेन्टिना सन् १९७८ र सन् १९८६ मा विश्व च्याम्पियन बनेको थियो । फाइनल खेल अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको थियो । फाइनल खेलको मुख्य आकर्षण फ्रान्सेली सुपरस्टार एमबाप्पेको ह्याट्रिक थियो भने अन्तिम विश्वकप खेलेका लियोनल मेस्सीले पनि उक्त खेलमा दुई गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयको ३० मिनेटको अन्तिम क्षणमा फ्रान्सका एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेललाई ३-३ को बराबरीमा पुर्याएका थिए । यो उनको ह्याट्रिक गोल थियो । अतिरिक्त समयको प्रारम्भिक हाफ अर्थात् पहिलो १५ मिनेटमा पनि खेल २-२ को बराबरीमा थियो ।
त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीले खेलको दोस्रो गोल गरेपछि अर्जेन्टिनाले फेरि ३-२ को अग्रता लिएको थियो । मेस्सीले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए । यो गोलपछि सबैले अर्जेन्टिनाको जित लगभग पक्का भएको स्वीकार गरेका थिए र रंगशालामा जम्मा भएका झण्डै ८० हजार फ्यानले अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए तर एक्स्ट्राटाइम सकिन पाँच मिनेटअघि एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । फ्रान्स ३-३ को बराबरीमा ल्याएको थियो ।
यहाँबाट बाँकी पाँच मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसमा अर्जेन्टिना ४-२ ले विजयी हुँदै तेस्रो पटक विश्व च्याम्पियन बन्यो ।
हाफसम्ममा अर्जेन्टिनाले फ्रान्समाथि २-० को अग्रता बनाएको थियो । खेलको २३औं मिनेटमा लियोनल मेस्सीले पहिलो गोल पेनाल्टीलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई १-० को अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको ३६ औं मिनेटमा डिमारियाले गरेका थिए । यसपछि अर्जेन्टिनाले फ्रान्समाथि एकपछि अर्को हमला गर्दा फ्रान्सेली खेलाडीको शारीरिक भाषा निकै सुस्त भयो र दुई गोल खाएपछि उनीहरुका खेलाडी दिमाग र शरीरबाट पूर्ण रुपमा बाहिर देखिन थालेका थिए ।
अर्जेन्टिनाले जम्मा २९१ पास गरेका थिए भने फ्रान्सले २०२ पास गरेका थिए। पहिलो हाफमा अर्जेन्टिनाले गोलपोष्टमा तीन शट लगाए भने फ्रान्सले कुनै पनि गोल गरेनन् तर दोस्रो हाफमा एमबाप्पेले करिब ९७ सेकेण्डको अन्तरमा दुई गोल गरे । यसबाहेक फ्रान्सविरुद्ध आज मैदानमा उत्रिएका मेस्सी सबैभन्दा बढी विश्वकप खेल्ने खेलाडी बनेका छन् ।