काठमाडौं, जेठ २० । बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसकिने बताएका छन् । यदि कोषले कोषमा आवद्ध हुनको लागि जबरजस्ती गरेमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा आफूहरुले खाईपाई आएका सेवासुविधाहरु कटौती हुने भन्दै कर्मचारीहरुले कोषमा नजाने अडान लिएका हुन् । बिहीबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ महामारीको समयमा कोषमा आवद्ध हुन जबरजस्ती गरेमा बैंक, बीमा तथा वित्तीय संस्थाहरु आन्दोलनमा उत्रिने बताइएको छ ।
‘देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गएको वर्तमान अवस्थामा बेमौसमको बाजा बजाएर बैंक, बीमा तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषको गतिविधिका विरुद्धमा आन्दोलनमा जाने अवस्थाको सृजना नगर्न बेलैमा सचेत रहन आग्रह समेत गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।
‘कोरोनाका कारण ज्यान गुमाएका कर्मचारीहरुका आफन्तको आड लिई कोषले नीजि बैंक, बीमा तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध नभएको बहानामा जरिवाना तथा भविष्यमा कारोवार रोक्का समेत गर्न सकिने भने जबरजस्ती दबाब सिर्जना गरेको प्रति संघको गम्भीर ध्यानाकषर्ण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै महामारीको कारण बैंक तथा वित्तीय क्षेत्र संकटमा परेको अवस्थामा कोषमा सूचिकृत हुनुपर्ने दबावले आलो घाउमा नुन चुक दल्नुजस्तै भएको संघको भनाई छ । परिस्थिती अनुकूल भएमा आपसी छलफल र सहमतिमा विद्यमान व्यवस्थाहरु परिमार्जन गरे मात्रै आफूहरु कोषमा आवद्ध हुन सक्ने संघको भनाइ छ ।
सरकारले २०७५ मंसिर ११ गते निजी क्षेत्रका सबै श्रमिकहरुका लागि अनिवार्य रुपमा सामाजिक सुरक्षा घोषणा गरेको थियो । ‘नयाँ युगको सुरुवात’ नारासहित तामझामका साथ अघि सारिएको सामाजिक सुरक्षा योजना शुभारम्भको ३ वर्ष बित्नै लाग्दा पनि आकर्षित हुन सकेको छैन । कोषले सम्पूर्ण क्षेत्रका रोजगारदाता तथा कर्मचारी र श्रमिकलाई आवद्ध हुन आग्रह गरे पनि संस्थाहरु कोषमा जान चाहि रहेका छैनन् ।
कोषले दुर्घटना, अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, वृद्ध अवस्था सुरक्षा योजनामार्फत् सेवा दिने गर्छ । हालसम्म कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।