म्याग्दी, पुस ४ । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् ।
विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका-७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे ।
उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्ता लगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बजारीकरण गर्दै आएका छन् । पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ ।
थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’ उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आएका उनले ९ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिँदै आएका छन् ।