काठमाडौं, पुस ५ । लैनचौरस्थित होटल एम्बास्डरमा भएको संस्थापन इतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ।
लैनचौरस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।
कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल नेता चयन गर्नेछन्।