Kath khabar
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ


                                बारा, पुस ५ ।  पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामान सहित ५ जनालाई पक्राउ गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।

चोरी शिकार गर्नेहरुका साथबाट मृत पोथी जरायो, भाले जरायोको सिंग सहित २ लाख ९० हजार ६ सय ७० नेपाली रुपैयाँ, १ हजार २ सय भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलरो गाडी, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिसकोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ।

hunted1671523224.jpg

नियन्त्रणमा लिइएका काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज थारु र अर्का एकजना ५२ वर्षीय मालदोंग तामांग रहेका छन्।

निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रियाअघि बढाइने बताए। उनले अहिले अनुसन्धानकै क्रममा रहेकोले कसलाई कति सजाय हुन्छ भन्ने कुरा अनुसन्धान पछि निर्धारण हुने जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update