Kath khabar
‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने


                           काठमाडौं, पुस ६ ।  नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारा सहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित वृहत नीति संवाद क्रमशः आउँदो माघ मसान्त भित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्त भित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबिआई वीच सम्झौता सम्पन्न भएको छ ।

सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरी शिखर सम्मेलनको तयारी सुरु भएको हो । 

शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचान सहित उत्पादन मूलक, रोजगारी मूलक, निर्यात मूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी-व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । 

यस शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचान सहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम-व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नति सहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने ३ तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।

प्रदेशस्तरीय वृहत नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्वगण, व्यवसायिक संस्थाका नेतृत्वगण, सम्पूर्ण पालिकाका प्रमुख-उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरुको व्यापक सहभागिता गराइ वृहत बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने जनाइएको छ । त्यसैगरी समापन सत्रको रुपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तराष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा वृहत नीति संवाद आयोजना गरिने छ ।

त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे “आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र” विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट २५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी-व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाड मार्फत सम्मान गरिने छ । 

नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरुबाट प्राप्त निष्कर्षहरुको संश्लेषण-विश्लेषण गरी कोभिड १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरु समक्ष पेश गर्ने र कार्यान्वयनका लागि संयुक्त पहल गरिने छ ।

सम्मेलनको चुस्त व्यवस्थापन गरी सफलता पूर्वक सम्पन्न गर्न विषयविज्ञ सहित दुवै पक्षका उच्च नेतृत्व रहने गरी सम्मेलन सल्लाहकार समिति र सम्मेलन मूल आयोजक समिति गठन गरिने छ ।  शिखर सम्मेलन आयोजनासम्वन्धी हस्ताक्षर समारोहमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, महानिर्देशक डा. गोपालप्रसाद तिवारी र एनबिआईका तर्फबाट सल्लाहकार द्वोय विनोद गुरागाइ र नरेशप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update