हैदराबाद, पुस ६ । दक्षिण भारतीय अभिनेता महेश बाबुकी श्रीमती नम्रता शिरोडकरले बलिउड फिल्मबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी थिइन्। उनले सञ्जय दत्त लगायत थुप्रै बलिउडका कलाकारसँग काम गरेकी छन्। आफ्नो फिल्मी करिअरको उचाइमा उनले फिल्म क्षेत्र छाड्ने निर्णय लिएकी थिइन्।
सन् २००५ मा महेश बाबुसँग विवाह गरेपछि उनले फिल्म क्षेत्र छाडेकी हुन्। १७ वर्षपछि उनले फिल्म क्षेत्र छोड्नुको कारण खुलासा गरेकी छन्। एक अन्तर्वार्ताको क्रममा नम्रताले आफ्नो श्रीमान् महेश बाबुको कारण फिल्म क्षेत्र छाडेको बताइन्। ‘महेशले स्पष्ट रुपमा भनेका थिए कि उनलाई काम गर्ने श्रीमती चाहिँदैन। यदि म कुनै अफिसमा काम गर्थें भने पनि उनले काम छाड्न लगाउँथे,’ उनले भनिन्।
विवाहपछि आफूले कुनै काम नगरेको बताउँदै नम्रताले भनिन्, ‘हामीले विवाह गरेपछि अपार्टमेन्टमा बस्ने निर्णय गरेका थियौं किनकी म मुम्बईबाट थिए। एक्कासी ठूलो बंगलामा फिट हुन गाह्रो हुन्थ्यो। विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादमा बस्यौं भने अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’
नम्रताले हेरा फेरी, वास्तव, अन्जी, मेजर, पुकार, कच्चे धागे, जब प्यार किसी से होता हे, हिरो हिन्दुस्तानी, हेल्लो इन्डिया जस्ता थुप्रै फिल्ममा अभिनय गरेकी छन्।