Kath khabar
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो

 

                    पर्सा, पुस ७ ।  पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा १ महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी थिइन्।

रिंकुको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। पक्राउ पर्नेमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई प्रहरीले पक्राउ गरेको छ, दाजुभाइ कुशल र भरत दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ।

प्रहरीले बिहान सडकमा १ महिला लडिरहेको भन्ने खबर पाएको थियो। खबरपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेको थियो।

रिंकुकुमारी घरअगाडिकै कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। टाउको किचिएको अवस्थामा शव फेला परेको थियो। त्यसरी शव फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए। त्यहाँ हामीलाई जनप्रतिनिधिले जानकारी दिएका थिए। त्यसपछि टोली खटाएका थियौं,’ डिएसपी गिरीले भने।

सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो। धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो होला भन्नेबारे पनि चासो प्रहरीको थियो।

उनका श्रीमान कुशललाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए। तर प्रहरीले शव हेर्दा हातमा करेन्ट लागेको पनि देखेको डिएसपी गिरीले बताए।

‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’

यी प्रमाणहरू पेस गरी सोधपुछ गर्दा भने उनले हत्या गरेको स्वीकार गरेका डिएसपी गिरीले बताए। उनका अनुसार कुशलले आफ्नै कोठामा श्रीमती रिंकुलाई करेन्ट लगाएर हत्या गरेका हुन्। यसरी हत्या गर्नेबारे उनले पूर्वयोजना बनाएको समेत प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

कुशलले रिंकु परपुरूषसँग लागेको भन्ने शंका गर्थे। त्यही शंकाले उनीहरूबीचको सम्बन्ध बिग्रिएको देखिएको छ। उनीहरू घरमा पनि अलग अलग बस्थे। मंगलबार मध्यराति भने रिंकुलाई आफू भएको ठाउँमा बोलाएर कुशलले हत्या गरेका हुन्।

हत्यापछि उनले उक्त शवलाई यत्तिकै राखेनन्। शव व्यवस्थापन गर्न र आफू हत्याबाट जोगिन भाइ भरतको सहयोग मागे। दाजुभाइ दुवै जना सवारी चालक हुन्। कुशल ठूला सवारीसाधन चलाउँछन् भने भाइ कुखुरा बोक्ने सानो गाडी चलाउँछन्।

उनीहरूले सर-सल्लाह गरी भरतले चलाउने ना ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर शव सडकमा निकाली गाडीले टाउकोमा किचेको डिएसपी गिरीले बताए। त्यसपछि गाडी वीरगन्ज-१७ अलौस्थित शिवम ह्याचरी भित्र लुकाएर राखेका थिए।

‘यसरी हत्यापछि पनि गाडीले किच्दा आफूहरू बचिन्छ कि भन्ने सोचेछन्। गाडी पनि फेला पर्दैन। कसले हिर्काएको पनि थाहा नहुने भन्ने बुझेर हत्यापछि किचेको देखियो,’ डिएसपी गिरीले भने।

शवको पोस्टमर्टम गर्न नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update