Kath khabar
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै,  १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी

               काठमाडौं, पुस ७ । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै थुनामुक्त गर्न तयारी भईरहेको छ । सर्वोच्च अदालतले दुई उत्तर अमेरिकी पर्यटकको हत्या गरेको अभियोगमा सन् २००३ देखि जेलमा रहेका ७८ वर्षीय शोभराजलाई वृद्धावस्था र बिग्रँदै गएको स्वास्थ्यका कारण रिहा गर्न आदेश दिएको हो । 

कैदमुक्त भएपछि नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई आजै कारागारले अध्यागमन विभागलाई बुझाउने तयारी रहेको छ। अदालतको आदेशपछि अध्यागमन विभागका अधिकारीले शोभराजको भिसाको म्याद थप गरी फ्रान्स फिर्ता पठाउने तयारी थालेका छन् । विभागका अनुसार शोभराज जेल बसेको प्रमाणपत्र र अदालतबाट डिपोर्ट गर्ने निर्णयको लिखित जानकारी पाएपछि पहिले उनको भिसा अवधि थपिने भएको छ । भिसाको म्याद १५ दिन थप गरेपछि उनलाई नेपालबाट फ्रान्स पठाइनेछ ।

शोभराज जेलबाट निस्केलगत्तै उनलाई काठमाडौंको शहीद गंगालाल अस्पताल लगिनेछ, जहाँ उनको चेकअप हुनेछ । पाँच वर्षअघि जेलमा रहेका शोभराजको मुटुको शल्यक्रिया गरिएको थियो । यसैलाई फलोअप गर्न शोभराजले शल्यक्रिया गर्ने डाक्टरसँग भेट्न आग्रह गरेका छन् ।

३० जुलाई २०१० मा नेपालको सर्वोच्च अदालतले चार्ल्स शोभराजको पुनरावेदनमा सुनुवाइ गर्दै उनलाई जन्मकैदको फैसला सुनाएको थियो । उनीविरुद्ध धेरै हत्याका मुद्दा परेका थिए । बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभराजले जिल्ला अदालतको फैसलाविरुद्ध अपिल गरेका थिए ।

फ्रान्समा सानातिना अपराध गरेर कैयौं जेल सजाय भोगेपछि शोभराजले सन् १९७० को दशकको शुरुमा थाइल्यान्डको राजधानी बैंककमा विश्व यात्रा गर्न थाले । उनको काम गर्ने तरिका फरक थियो । उनी लागुऔषध बेचेर लुट्नुअघि पीडितहरूलाई आकर्षित गर्ने र मित्रता गर्ने गर्थे । तीमध्ये अधिकांश पश्चिमी देशका यात्रीहरू थिए जो आध्यात्मिकताको खोजीमा घुमिरहेका थिए ।

उनी सज्जन जस्तो व्यवहार गर्थे । उनीमाथि पहिलो पटक अमेरिकी युवतीको हत्या गरेको आरोप लागेको थियो । सन् १९७५ को यो घटनामा भारतको पट्टायास्थित समुद्र तटमा महिलाको शव भेटिएको थियो र उनले बिकिनी लगाएकी थिइन् । पछि उनीमाथि २० भन्दा बढी हत्याका मुद्दा दर्ता भएका थिए । उसले अक्सर पीडितको राहदानी प्रयोग गरेर अर्को गन्तव्यमा यात्रा गर्थे।

शोभराजलाई सन् २००३ मा काठमाडौँको एक क्यासिनोबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्यामा आजीवन कारावासको सजाय सुनाएको थियो । एक दशकपछि उनी ब्रोन्जिचको क्यानाडाली साथीको हत्यामा पनि दोषी पाइयो।

शोभराजका बारेमा धेरै किताब लेखिएका छन् भने केही फिल्म पनि बनेका छन् । हालै शोभराजको एउटा वेब सिरिज 'द सर्पेंट' पनि रिलिज भएको थियो, जसको निकै चर्चा भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update