काठमाडौं, पुस ७ । नेप्से सामान्य अंकले घटेको छ । आज बिहीबार नेप्से शून्य दशमलव शुन्य एक अंकले घटेर १८ सय ६७ दशमलव २१ अंकमा झरेकोमा सेन्सिटिभ भने एक दशमलव ७२ अंकले बढेर तीन सय ६७ दशमलव छ अंकमा चढ्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ४७ वटा कम्पनीहरूको २३ हजार ५४ पटकको कारोबारमा ३१ लाख ११ हजार आठ सय ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेको छ भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक भने घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरूको सुचीमा सिर्जनशील लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, कालिका पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आँँधीखोला लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, एनआईसी एशिया बैंक, नबिल बैंक आदि परेका छन् ।