Kath khabar
चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

 

               काठमाडौं, पुस ८ । नेपालको जेलमा १९ वर्ष तीन महिना पाँच दिन लामो कारावासको जिवनलाई अन्त्य गर्दै विश्व कुख्यात अपराधि फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार कैदमुक्त हुँदैछन्। केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । उनलाई अध्यागमनमा बुझाउने सम्पूर्ण तयारी पूरा भइसकेको  छ ।

सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ शोभराजलाई अध्यागमन विभागले फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरेको छ।

सर्वोच्चले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट हिजो बिहीबार नै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर केहि दिन नेपालमै बस्ने इच्छा व्यक्त गरेका उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।

 शोभराजलाई सन् २००३ मा काठमाडौँको एक क्यासिनोबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्यामा आजीवन कारावासको सजाय सुनाएको थियो ।

३० जुलाई २०१० मा नेपालको सर्वोच्च अदालतले चार्ल्स शोभराजको पुनरावेदनमा सुनुवाइ गर्दै उनलाई जन्मकैदको फैसला सुनाएको थियो । बुधबार सर्वोच्चले ‘आजै छोड्नू र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नू’ भन्ने आदेश गरेको थियो। 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update