Kath khabar
दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु


                     दाङ, पुस ८ ।  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु भएको छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा शुरु भएको हो।

प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार शुरु भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो।

बिरामीको रगत निकालेर रगतबाट प्लेटेलेट्स सहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको वृद्धि भइ कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा. कृष्ण झाले बताउनुभयो । 

'कपाल उमार्नेसँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर एवम् चाउरी हटाउन पनि यो विधि प्रभावकारी छ’ - उहाँले भन्नुभयो - ‘यो उपचार विधिमा बिरामीकै रगतबाट प्लेटेलेट्स सहितको प्लाज्मा छुट्याएर कपाल नभएको ठाउँमा राख्ने गरिन्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको हो । प्रतिष्ठानको छाला रोग विभागमा डा. झाको नेतृत्वमा डा. निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले यो काम गरिरहेको छ । प्रतिष्ठानले थेरापी गरेको ३ देखि ६ महिना भित्र कपाल पलाउने जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update