Kath khabar
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले


                        खोटाङ, पुस ८ ।  सोमबार साँझ खोटाङको केपिलासगढी गाउँपालिका-५ बाक्सिलाका व्यवसायी दीपक गुरुङको घरबाट आगलागी सुरु भयो । शान्त बजारमा एकाएक कोकोहोलो मच्चियो । बास बस्नेबेलाको आगोले क्रमशः रमेश परियार, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ घर छिनभरमै खरानी बनायो । बजार नै ध्वस्त हुने अवस्थामा अकबर राईको घर स्काभेटर लगाएर भत्काइयो ।

कपडा, भाँडाकुँडा, कपडा, स्टेशनरी, होटल सञ्चालन भइरहेका घरहरु जलेपछि स्थानीय र प्रहरी आगो निभाउन जुटे । कोही ज्यानको बाजी लगाएर घरभित्रको पसलका सामानहरु पाखामा निकाल्न थाले । कोही खानेपानीको पाईप काटेर आगोको लप्कातिर हान्न थाले, कोही जमिन खोतलेर आगोमा माटो फ्याँक्न तल्लिन भए । तर, त्यही विपत्तीको समयमा पसलबाट बाहिर निकालिएका कतिपय सामान चोरी भएको व्यवसायी बताउँछन् ।

बाक्सिलामा पसलको सामानका प्याकेट देखि कपडा, काँसका थालबटुका, ग्याँसको सिलिण्डर समेत चोरी भएको छ । बाहिर निकालिएको सामान मध्ये कतिपय सामान नभेटिएको आगलागी पिडित रमेश परियार बताउँछन् । ‘हामीलाई सामानमा ध्यान गएन । सामान निकाल्नमा मात्र ध्यान गयो,’ परियारले भने, ‘सानोतिनो कार्टुनको सामान केही मात्रामा लगेको हुनसक्छ, पछि खोज्दाखेरी भेटिएन ।”

आपतविपतका बेला उद्धारको नाममा कतिपय ठाउँमा चोरी भएका र गरेका घटनाहरु बारे धेरैजसो जानकार छन् । बाक्सिलाको आगलागीका क्रममा पसलबाट निकालेर यत्रतत्र पाखामा छरिएका सामान चोरी हुनसक्ने आंकलन पहिल्यै गरिएको थियो । चोरी हुने आशंकामै एक जना प्रहरी जवानलाई भिडियो खिच्न लगाएको गाउँपालिका उपाध्यक्ष गुरुराज राई बताउँछन् ।

‘हामीले धेरै ठाउँमा यस्ता घटना देखेका छौँ । सहयोग गर्ने निहुमा छ्यापछ्याप्ती चोरी गर्ने । त्यही भएर हामीले एक जना प्रहरीलाई भिडियो खिच्न लगाएका छौँ । हामी भिडियो अलवोकन गर्छौँ,’ राईले भने, ‘बिहान आएर सुन्दा ३-४ वटा सिलिण्डर र अन्य सामान चोरी भयो भन्ने सुन्यौं । हाम्रो ध्यानचैं आगोतिर भएकाले त्यतातिर ध्यान जान पाएन । तर, यसलाई खोजी गर्छौँ ।”

खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजारमा आगलागी हुँदा ४ करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । ५ घर पूर्ण रुपमा भग्नावशेषमा परिणत भएको छ । सर्वस्व गुमेपछि आगलागी पीडितको उठिबास भएको छ । घर भग्नावशेषमा परिणत भएपछि विस्थापित परिवार आफन्तकोमा आश्रय लिइरहेका छन् । केही विस्थापितका लागि भग्नावशेष नजिकै टहरा बनाइएको छ ।

एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । ५ घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ । भिमा कन्ट्रक्सन प्रालिको स्काभेटर चालक पुरन घर्ती मगरले ज्यानको बाजी थापेर आगोको राप नजिक गएर घर भत्काए । अकबरको घर भत्काइएपछि आगो अन्यत्र फैलिन नपाएको उद्योग बाणिज्य संघ केपिलासगढीका अध्यक्ष शिव राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update