Kath Khabar
उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिली


              वीरगञ्ज, पुस ८ । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिली बनेको छ । उज्यालो वीरगञ्ज अभियान अन्तर्गत सडक तथा चोकचोकमा वत्ति जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो ।

टोलटोलमा रहेका पोल र सडकमा वत्ति जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए । संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज  महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियान अन्तर्गत ३२ वटै वडामा १३ हजार भन्दा बढी बल्ब जडान गरिएको छ ।  

३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन । महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो ।

नयाँ नेतृत्व आएसँगै कामलाई तिव्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो । सम्झौता अनुसार १०० बाट, ६० बाट र ४० बाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र १ सय भन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए । केही वडामा पहिले जडान भएको वत्ति नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांश वत्ति बल्ने गरेको छ ।

सूर्योदय उर्जा, तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो ।

जडान भएका बत्तिमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत शाखाले सबैलाई आग्रह गरेको छ । विगतमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिव्रता दिएकाले गुनासो आउन पनि कमी भएको छ । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउँछन् विद्युत शाखाका इन्जिनियर उपाध्याय बताउँछन् ।


 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update