Kath khabar
फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइयो
तस्बिर : एबिपी लाइभ


               काठमाडौं, पुस ८ । हत्याको आरोपमा झण्डै १९ वर्ष जेल सजाय भोगेका फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई जेलबाट रिहा भएपछि आजै फ्रान्स पठाइएको छ ।

केन्द्रीय कारागारबाट हिरासतमुक्त भएपछि उनलाई अध्यागमन विभागले साँझ छ बजे फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाएको छ ।

भारतीय बुबा र भियतनामी आमाबाट जन्मेका शोभराजले सन् १९७० को दशकमा एसियाभरि ब्याकप्याकरहरूको हत्यामा करीब १९ वर्ष जेल सजाय भोगेर जेलबाट रिहा भएका हुन् । सर्वोच्च अदालतले ७८ वर्षीय शोभराजलाई ९५ प्रतिशत सजाय काटेर रिहा गर्ने निर्णय गरेको हो । बुधबार आदेश दिँदै अदालतले कारागारको नियमअनुसार ७५ प्रतिशत कैद पूरा गरेको, ६५ वर्षभन्दा माथिको र राम्रो व्यवहार भएमा रिहा हुने जनाएको छ । शोभराजका वकिलहरूले लामो समयदेखि उनलाई जेलबाट रिहा गर्न अदालतमा अपिल गर्दै आएका थिए ।

सन् १९७५ मा अमेरिकी महिला कोनी जो ब्रोन्जिचको नेपालमा हत्या गरेको अभियोगमा शोभराज सन् २००३ देखि काठमाडौं कारागारमा जन्मकैदको सजाय भोग्दै आएका थिए ।

चार्ल्स शोभराजलाई सन् १९७५ मा नेपालमा दुई अमेरिकी पर्यटकको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । चार्ल्स शोभराज  पर्यटक र युवतीलाई लक्षित गर्थे । चार्ल्स शोभराजमाथि भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा हत्याको आरोप छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update